न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न
दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै
प्रेसचौतारी डटकम
मे ९, न्यूयोर्क
गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।
न्यूयोर्क प्रिमियर शोमा नेपाली महावाणिज्यदूतावासको कार्यालय न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीले चलचित्रले उठाएको विषयवस्तु र कलाकारहरुको अभिनय उत्कृष्ट रहेको बताए । चलचित्र प्रर्दशन अघि वाणिज्यदूत क्षेत्रीसँगै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबा तामाङ, चलचित्र लेखक एवं निर्देशक सुरज सुब्बा नाल्बो लगायतले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
चलचित्र मैंरिमोको पुनः प्रर्दशन आगामी मे १०, १५ र २० तारिख न्यूयोर्कको कुईन्स सन्नीसाईडस्थित नमस्ते नेपाल (पुरानो मालिङ्गो) रेष्टुरेन्टमा हुने भएको छ ।
गुरुङ कलाकारहरुलाई बिशेष सम्मान
चलचित्र मैंरिमोको प्रिमियर शोमा बिभिन्न क्षेत्रमा क्रियाशील गुरुङ कलाकारहरुलाई चलचित्र युनिटले बिशेष सम्मान गरेको छ । सम्मान हुनेहरुमा नायिका एवं गायिका मीरा गुरुङ, नायिका नविना गुरुङ, नायिका एवं निर्माता येनसर्ज गुरुङ, गायिका ज्योति गुरुङ, नायक लक्षिन गुरुङ, गायक प्रकास गुरुङ, पत्रकार प्रेम कुमारी गुरुङ र कलाकारहरु रमेश गुरुङ, जीत गुरुङ, नरबीर गुरुङ र तारा गुरुङलाई रहेकाछन् ।
यसैगरी कार्यक्रममा चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले चलचित्रबाट संकलित रकम मध्येबाट १ लाख रुपैया नेपालका युवा बैज्ञानिक/प्राविधिक राज गुरुङलाई हस्तान्तरण गरेकाछन् ।

दुई घण्टा अवधीको चलचित्र मैंरिमोलाई अनुभवी निर्देशक भोज बहादुर गुरुङले निर्देशन गरेका हुन । चलचित्रको केन्द्रीय भूमिकामा सपना गुरुङ रहेकीछन भने उनीसँगै प्रेम गुरुङ, गमन घले, सेसुबा (सुनु) गुरुङ लगायत अन्य कलाकारहरुले अभिनय गरेकाछन । चलचित्रको अधिकांश दृश्य छायांकन लमजुङ जिल्लाको मालिङ गाविस अन्र्तगत शैलुङ गाउँमा गरिएको हो । प्रेम गुरुङ र सपना गुरुङ निर्माता रहेको मैंरिमोको कार्यकारी निर्माता भने बालकशी गुरुङ हुन् । चलचित्रको कथा केयर सिंह गुरुङ लेखेका हुन भने रोशन गुरुङको पटकथा र संवाद रहेको छ । यसैगरी चलचित्रमा खिम बहादुर गुरुङको छायांकन र सम्पादन गरेका छन् । चलचित्रमा समाबेश चार गीत मध्ये दुई गीत प्रेम गुरुङ स्वयम्ले लेखेका हुन भने बाँकी दुई गीतको रचना आश गुरुङ र अमीर गुरुङले गरेका हुन । तेजेन्द्र गुरुङले संगीतबद्ध गरेको मैंरिमोका नृत्य निर्देशन भने नेत्र गुरुङले गरेका हुन् । चलचित्रको “ए ङ्योल्स्यो...” बोलको गीत युटयुव लगायत अन्य सामाजिक सञ्जालहरुमा सर्वाधिक रुचाईएको र लोकप्रिय भईसकेको गीत हो ।
न्यूयोर्क प्रर्दशन पश्चात् नेपाल लगायत अन्य बिभिन्न देशमा प्रर्दशन गरिने निमार्ण पक्षले बताएको छ ।