न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न
अक्टोबर ७ मा दशैं शुभकामना साँझ
प्रेस चौतारी डटकम
सेप्टेम्बर २५, न्युयोर्क
नेपाली अमेरिकन कलाकार संघले केहि साता अघि दिवंगत भएका तीन कलाकारको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गर्यो । संघले बरिष्ठ तबलावादक होम नाथ उपाध्याय, चर्चित गायक खेमराज गुरुङ र लोकप्रिय गायक/संगीतकार सुनील बर्देवाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम न्यूयोर्कको कुईन्समा अवस्थित मालिङ्गो रेष्टुरेन्टमा सम्पन्न भएको थियो ।
श्रद्धाञ्जली सभामा दिवंगत कलाकारहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा दिवंगत कलाकारहरुको व्यक्तित्व र नेपाली गीत संगीत क्षेत्रमा उनीहरुले पुर्याएका योगदानको बारेमा निकटतम कलाकारहरुले चर्चा गरेका थिए ।
श्रद्धाञ्जली सभामा बरिष्ठ गायिका सपना श्री, चर्चित एवं लोकप्रिय गायकद्धय यम बराल र जगदिश समालसँगै वाद्यवादकद्धय नुच्छे डंगोल र राजेन्द्र कर्ण लगायतले स्वार्गीय तीनै कलाकारहरुसँगैको सहकार्य र नेपाली गीत संगीत क्षेत्रमा उनीहरुले पुर्याएका योगदानको बारेमा मन्तव्य राखेका थिए ।

नेपाली संगीत क्षेत्रमा हजारौं चेलाहरुका प्रिय गुरुको रुपमा परिचित बरिष्ठ तवलावादक होम नाथ उपाध्यायको गत सेप्टेम्बर ७ तारिख काठमाण्डौंमा निधन भएको थियो । सन् १९४३ सालको जुलाई ४ तारिख काठमाण्डौंमा जन्मिएका उपाध्याय विगत साढे चार दशक भन्दा बढि समयदेखि नेपाली संगीत क्षेत्रमा क्रियाशील रहदै आएका थिए ।

यसैगरी “वारी जमुना, पारी जमुना” बोलको गीतबाट सर्वाधिक चर्चा कमाएका खेमराज गुरुङको गत अगस्त २५ तारिख काठमाण्डौंमा निधन भएको थियो । सन् १९७५ सालको जनवरी १४ तारिख नेपालको पुर्वी पहाडी जिल्ला संखुवासभामा जन्मिएका गुरुङले बिभिन्न लोकगीतसँगै आधुनिक गीतहरुमा पनि संगीत भर्नुका साथै स्वर दिएकाछन् ।
.jpg)
“गोरेटो अनि गल्ली छ उस्तै” बोलको गीत गाएर चर्चा कमाएका अर्का गायक एवं संगीतकार सुनील वर्देवाको गत सेप्टेम्बर १३ तारिख काठमाण्डौंमै निधन भएको थियो । गायनसँगै कुशल संगीतकार र संगीत संयोजकको रुपमा ख्याती कमाएका बर्देवाले बिभिन्न पप गीतसँगै दर्जनौं आधुनिक र चलचित्रका गीतहरुमा संगीत संयोजकको रुपमा काम गरेकाछन् ।

अक्टोबर ७ तारिख दशैं शुभकामना साँझ–२०१६
नेपाली अमेरिकन कलाकार संघले आगामी अक्टोबर ७ तारिख न्यूयोर्कमा “दशैं शुभकामना साँझ–२०१६”को आयोजना गर्ने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी तीब्र गतीमा भईरहेको र प्रचार–प्रसारको लागि संघका सम्पूर्ण सदस्यहरु अहोरात्र खटिरहेको संघका अध्यक्ष सुमन बुढामगरले प्रेस चौतारी डटकमलाई बताए । “विगतमा भन्दा पृथक प्रस्तुतिहरु समाबेश गरेर न्यूयोर्केलीहरुलाई पूर्ण मनोरञ्जन गराउने छौं” बुढामगरले भने ।
त्यसो त कार्यक्रममा अमेरिकाको बिभिन्न राज्यमा रहेका चर्चित एवं लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने प्रचार सामाग्रीमा उल्लेख गरिएको छ । खासगरी न्यूयोर्कबाहिर रहेका नेपाली कलाकारहरुको बाहुल्यता रहने उक्त कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न हुने संघका महासचिव अभय ढुंगेल बताउँछन् ।

न्यूयोर्कको कुईन्समा रहेको गुल्सन टेरेसमा सम्पन्न हुन लागेको उक्त कार्यक्रममा चर्चित नायिकाहरु जल शाह, पुजा चन्द, सज्जा मैनाली, अरुणिमा लम्साल, नन्दिता केसी, ऋचा घिमिरे, सम्झना खड्कासँगै धु्रव वन्त, अनु वन्त, गणेश उप्रेती, अमृत लामा, शान्ति भण्डारी, भगवान भण्डारी, श्याम भट्टराई, बुद्धिसागर बस्याल, सुमन सिंह, सरगम राज, बिक्की पुलामी, अनुजा थापा र सुस्मा अधिकारी लगायतका कलाकारहरुले बिभिन्न प्रस्तुति गर्नेछन् ।