न्युयोर्कमा डिजे हङ्क भव्य रुपमा सम्पन्न,
-गीति संग्रह कहिँ कतै सार्वजानिक
प्रशान एलुङ् राई
प्रेस चौतारी डटकम/न्युयोर्क
तिहारको अवसरमा आयोजित डिजे हङ्क न्युयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । बरिष्ठ गायक नविन ढुङ्गेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रम नेपाली महावाणिज्यदूतावास, न्युयोर्कका उप-प्रमुख प्रविण भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । नेपालका पहिलो तथा चर्चित डिजे तेञ्जिङ्गसँगै अमेरिकाका अन्य चार डिजेले एकै साथमा डिजेइङ्ग गरेको उक्त कार्यक्रम न्युयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको थियोे । थ्रिजी साउण्ड ईन्कको मुख्य आयोजनामा सम्पन्न उक्त कार्यक्रम अमेरिकाका चर्चित एवं व्यस्त चार नेपाली डिजेहरुको सह-आयोजनामा सम्पन्न भएको हो ।
नेपाली डिजे इतिहासमा पहिलो चोटी यसरी एकैसाथ पाँच डिजेहरुले एउटै मञ्चमा डिजे कार्यक्रम गरेको यो नै पहिलो हो । यसरी डिजे कला प्रस्तुत गर्नेहरुमा डिजे तेञ्जिङ्गसँगै, डिजे माईकल, डिजे जाम्बु, डिजे एलएए (लाक्पा) र डिजे गेलु रहेका थिए । कार्यक्रममा सहभागी हुन नेपालबाट डिजे तेञ्जिङ्ग र सान्फ्रान्सिस्कोबाट डिजे गेलु न्युयोर्क आएका हुन् । अन्य तीन डिजेहरु न्युयोर्कबासी हुन् ।

आईलाईन क्रियसन एलएलसीको व्यावस्थापनमा आयोजित डिजे हङ्क कार्यक्रमलाई नेपालका ख्याती प्राप्त सञ्चारकर्मी एवं कलाकार सरोज केसीले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाली अमेरिकन कलाकार संघ, उत्तर अमेरिकाका नवनिर्वाचित अध्यक्ष सुमन बुढा मगरले शुभकामना मन्तव्य दिएका थिए भने थ्रिजी साउण्ड ईन्कका अध्यक्ष गम्बु शेर्पाले कार्यक्रमको विषयमा बोलेका थिए ।

कहिँ कतै बिमोचित
कार्यक्रममा गायक राजेन्द्र राई र एञ्जिला राईको गीति संग्रह “कहिँ कतै” को विमोचन गरिएको थियो । गीति संग्रह “कहिँ कतै”लाई कार्यक्रमका प्रमुख अतिथी एवं नेपाली वाणिज्यदूतावास, न्युयोर्कका उप–प्रमुख प्रविण भट्टराईले विमोचन गरेका थिए । गीति संग्रह बिमोचन पश्चात् कार्यक्रमका प्रमुख अतिथि भट्टराईले आफु नेपाली दूतावासको कर्मचारी भए पनि नेपाली भाषा, संस्कृति र मौलिकतालाई देश बिदेश पुर्याउने सबै नेपाली दूत भएको बताए ।

गीति संग्रहमा समावेस “कहिले काहिँ मलाई पनि सम्झि देऊ है..बोलको गीतको विषयमा बरिष्ठ गायक यम बरालले टिप्पणी गरेका थिए । कार्यक्रममा गायक राजेन्द्र राईको “भुल्यो कि तिमीले...” र छोरी एञ्जिला राईसँगैको स्वरमा रहेको “ड्याडी आई लभ यु...”बोलको गीतको म्युजिक भिडियो समेत प्रर्दशन गरिएको थियो ।
बिमोचित गीति संग्रह “कहिँ कतै” मा उल्लेखित दुई गीतसँगै “ए माया.., आँखा भरी..., जाँदा जाँदै..., “माया मेरी माया...लगायतका दश गीत समावेस छन् । संग्रहमा गायक स्वयम्सँगै बिनोद खम्बु, शान्ति लामा र राजेन्द्र श्रेष्ठको शब्दमा बिनोद खम्बु, सन्नी गील, उदयराज पौडेल र राजेन्द्र राईको संगीत रहेको छ । “कहिँ कतै”लाई थ्रिजी साउण्डले प्रर्बद्धन गरेको हो ।
डिजे तेञ्जिङ्ग र भिजे सरोज सम्मानित
अनौपचारिक कार्यक्रम डिजे हङ्क शूरु हुनु अघि सम्पन्न औपचारिक कार्यक्रममा नेपालको प्रथम डिजे तेञ्जिङ्ग र सञ्चारकर्मी एंवं कलाकार सरोज केसीलाई बिशेष सम्मान गरिएको थियो । दुवै व्यक्तित्वलाई आ–आफ्नो क्षेत्रबाट नेपाली समाजलाई पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थ्रिजी साउण्ड इन्कका अध्यक्ष गम्बु शेर्पाले बताए ।
सम्मान पश्चात् सञ्चारकर्मी एवं अभिनेता केसीले खुसी व्यक्त गर्दै नेपाली मौलिक कला, भाषा र संस्कृति संरक्षणको लागि बिदेशमा बस्ने नेपालीहरुको योगदान अतुलनिय रहेको जनाए । उद्घोषण, रंगमञ्च र कलाकारितामा आफ्नो अलग्गै परिचय बनाईसकेका केसीले ईमेज एफएम, च्यानल नेपाल, नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, न्युज २४ टेलिभिजन र रेडियो बिएफबिएसमा काम गरिसकेकाछन् ।
उनले हालसम्म डेड दर्जन नेपाली चलचित्र र त्यत्तिकै संख्याका मेघा टेलिश्रृङ्खलाहरुमा शसक्त अभिनय गरिसकेकाछन् ।

यसैगरी अर्का सम्मानित डिजे तेञ्जिङ्ग नेपालका प्रथम एवं चर्चित डिजे अन्र्तगत पर्दछन् । सन् १९९१ बाट काठमाण्डौंको जोली पपबाट डिजेईङ्ग शूरु गरेका तेञ्जिङ्गले नेपालका बिभिन्न शहरसँगै जर्मनी, कोरिया, फ्रान्स, बेल्जियम, हल्याण्ड, स्पेन, जापान, बेलायत लगायतका दर्जनौं देशमा डिजे कला प्रस्तुत गरिसकेकाछन् । हज्जारौं कार्यक्रममा सहभागी भईसकेका तेञ्जिङ्गले रेश्मा सुनुवार, रोज मोक्तान, माण्डवी त्रिपाठी, मिङ्मा शेर्पा, राजन इशान लगायतका चर्चित गायकहरुको गीत संयोजन गरिसकेकाछन् ।
तस्बिरहरु : आङ्कमी शेर्पा/फोटोहेर डटकम